
मानु हिस्की
२२ श्रावण, पाल्पा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पा र जिल्लाभित्रका आयुर्वेद औषधालयहरुबाट गरी आर्थिक वर्ष २०७७।०७८ मा जम्मा ३० हजार १ सय ४ जना बिरामीहरुले ओपीडी सेवा अन्तर्गतको आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् ।
जिल्लाको आयुर्वेद स्वास्थ केन्द्र तथा सरकारी आयुर्वेद औषधालयहरुबाट स्वास्थ्य सेवा लिनेहरुको संख्या आघिल्लो आर्थिक वर्ष २०७६।०७७ मा भन्दा गएको आर्थिक वर्ष २०७७।०७८ मा १० हजार ३ सय ७ को संख्याले वृद्धि भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाका निमित्त प्रमूख माधवप्रसाद बस्यालले जानकारी दिनुभयो ।
यसैगरी ३ हजार ५ सय ८७ जना जेष्ठ नागरिकहरुले आयुर्वेदिक स्वास्थ्य सेवा लिएका छन् भने सुत्केरी महिलाका लागि उपलब्ध गराइने स्तनपायी सेवा अन्तर्गत १ हजार १ सय ३० जनाले दुग्धबद्र्धक औषधी प्राप्त गरेका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपलब्ध गराइने जडिबुटी तेलले मालिस गरिने उपचार स्नेहन र जडिबुटीको बाफले सेकेर गरिने उपचार स्वेदन् गरी १ हजार ३ सय ५७ जनाले पूर्वकर्म तथा पञ्चकर्म सेवा लिएका छन् ।
त्यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा निस्दी गाउँपालिकाको गौरीशंकर मावि, रैनादेवी छहराको भैरव नवदीप मावि, तिनाउ गाउँपालिकाको दोभान आइशोलेसन सेन्टर तथा अर्गली र रम्भा गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएको कोभिड पोजेटिभ बिरामीका लागि रोग प्रतिरोधात्मक औषधी, योग प्रणायाम् तथा स्वच्छ जीवनशैली कार्यक्रमबाट ५ सय ७८ जना लाभान्वित भएका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रबाट तिनाउ गाउँपालिकाअन्तर्गतका माध्यमिक विद्यालयका स्वास्थ्य शिक्षा विषयका शिक्षकहरुका लागि सञ्चालित योग र स्वस्थ जीवनशैली सम्बन्धी ३ दिनको तालिमबाट ९ वटा विद्यलायका ९ जना शिक्षक तथा सम्बन्धीत विद्यलायका विद्यार्थिहरु समेत लाभान्वित भएका छन् ।
जिल्लामा अहिले जिल्ला आयुर्वेद स्वास्थ्य केज्द्र तथा गाँडाकोट, रामपूर, विरकोट, चिदीपानी, बराङ्दी, पालुङ्मैनादी र छहरामा गरी ७ वटा आयुर्वेद औषधालयहरुबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ भने रम्भा गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ देखि आफ्नै श्रोत र साधानबाट आयुर्वेद औषधालय सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी निस्दी गाउँपालिकाको मित्याल र तिनाउको दोभानमा रहेका नागरिक आरोग्य केन्द्रबाट समेत निशुल्क रुपमा आयुर्वेद स्वास्थ्य उपचार तथा सेवा उपलब्ध हुँदै आएको छ ।
आयुर्वेदिक औषधीको प्रयोग र सेवनबाट शरीरमा कुनै किसिमको साइड इफेक्ट नगर्ने र यस औषधीबाट पनि बिरामीको क्रमिक रुपमा सुधार भई रोग निको हुँदै जाने तथा बिरामीहरुको माग र आवश्यकताअनुसार औषधी तथा निशुल्क उपचार सेवा उपलब्ध गराउन सकिएका कारण पनि आयुर्वेदिक स्वास्थ्य सेवाप्रति बिरामीहरुको आकर्षण बढ्न गई स्वास्थ्य सेवा लिनेहरुको संख्या बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाले जनाएको छ ।