पाल्पाका शिक्षकहरुद्वारा खोप नपाएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय ।

मानु हिस्की
१३ श्रावण, पाल्पा । पाल्पाका शिक्षकहरुले कोभिड १९ विरुद्धको खोप नपाएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय गरेका छन् ।
संयुक्त संघर्ष समितिकाे बुधबार बसेको भेलाले कोभिड विरुद्धको खोप नलगाउँदासम्म बोर्ड परीक्षा, अन्लाइन तथा अफलाइन कक्षा लगायत सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड १९ को बढ्दो संक्रमण र त्रासपूर्ण अवस्थामा पनि शैक्षिक अवस्थालाई चलायमान बनाउनका लागि बालबालिकाहरु तथा अभिभावकहरुसंग प्रत्यक्ष सम्पर्कमा रहँदा शिक्षकहरुलाई अत्यन्त जोखिमपूर्ण स्थिति भएकोले सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गरी जिल्ला प्रशासन कार्यालय पाल्पा तथा स्वास्थ्य कार्यालय पाल्पामा खोप व्यवस्थापनको लागि ज्ञापनपत्र बुझाईएको छ ।
त्यसैगरी कक्षा ११ को परीक्षा स्थगन गर्ने, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न तय गरेको कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई कोभिड बिरुद्धको खोप नपुग्दासम्म अन्य शिक्षकहरुले पनि खोप नलगाउने निर्णय गरेको छ । समितिको बैठकले शिक्षक तथा कर्मचारीहरुलाई खोपको व्यवस्था नभएसम्म सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्न जिल्लाका नीजि तथा सामुदायिक विद्यालयलहरुलाई आग्रह गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु पोखरेल, नेपाल शिक्षक महासंघ जिल्ला समिति पाल्पाका अध्यक्ष धनकला गाहा, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघका उपाध्यक्ष शारदा पाण्डे, प्याब्सन उपाध्यक्ष्य महेशमान बज्राचार्य, अखिल नेपाल शिक्षक संगठनका सहसचिव कपिल कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति अध्यक्ष दीर्घनारायण आचार्य, मायादेवि घर्ती, टिकाराम ढकाल, हिरा आचार्य लगायतका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
भेलाका अवसरमा नेपाल शिक्षक महासंघ जिल्ला समिति पाल्पाका निवर्तमान अध्यक्ष देवीप्रसाद भट्टराईलाई बिदाई गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय