विजयकुमार बौडेल –
१० साउन – पाल्पाको बगनासकाली वडा नं. १ को सिस्नेखोलामा बनेको कचवे सानो हुँदा खोलाले खेत पुरेको भन्दै खेतधनीले कचवे भत्काईदिने चेतावनी दिएका छन् ।
अन्नको भण्डार माडिफाँटबाट बगेको सिस्ने खोलामा क्षमता भन्दा सानो कचवे बनाईएको भन्दै खोला खेतमा पसेपछी किसानहरुले कचवे भत्काईदिने चेतावनी दिएका हुन् । पुल बन्नुपर्ने स्थानमा कचवे बनाएपछी खोला बग्नुपर्ने ठाउँ छोडेर खेतमा पसेको स्थानिय किसानको गुनासो छ । खोला आफ्नै ठाँउँबाट बग्नुपर्ने भन्दै सम्बन्धित पक्षले जतिसके छिटो यसको समाधान निकाल्नुपर्ने पिडित किसान चिन्तामणी पंगेनीको भनाई छ ।
कचवे बन्ने बेला सम्बन्धित क्षेत्रका किसानले थाहा नै नपाएको गुनासो गरेका छन् । कचवेको कारणले किसानलाई धेरै नोक्सान भएको भन्दै पुल तोडेर अर्को नबनाए सम्म किसानको समस्या नटर्ने किसान शिव प्रसाद भुषालले बताउनुभयो । अर्का किसान दिल बहादुर दिशाले ३ पटक सम्म स्टिमेट फेरेर पुल बन्नुपर्नेमा सानो कचवे बनाईएको भन्दै कचवेले सिस्ने खोलाको पानी थाम्न नसक्ने बताउनुभयो । दिशाले साना साना झ्याङ पनी अड्केर पानीले कचवे नाघ्ने बताउनुभयो ।
कचवे बनाउने नाममा किसान र राज्यको सम्पत्तीको नोक्सान भएको किसानले गुनासो गरेका छन् । किसानको खेतमा खोला पस्ने समस्या समाधान नगरिए किसानहरु मिलेर कचवे भत्काउन बाध्य हुने पिडित किसान भवानी गौतमले बताउनुभयो । किसानको पक्षमा जनप्रतिनिधिले काम नगरेको खेतधनीले गुनासो गरेका छन् । सिस्ने खोलामा बनेको कचवे सानो हुँदा खोला खेतमा पसेर करिव एक हजार रोपनी खेत तहसनहस हुने पिडित किसानहरुको भनाई छ ।