विजयकुमार बौडेल –
३० असार – तिनाउ गाउँपालिकाले विपन्न विद्यार्थी र विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै यही साउन ३ गते बाट कक्षा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले सबै विद्यालयलाई खेलकुद सामग्री र विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको जनाएकाे हो । सबै शिक्षक विद्यालयमा नै उपस्थित भएर अध्यापन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शैक्षिक अवस्था उकास्न र अप्ठेरोमा परेका विपन्न बालबालिकालाई अध्ययनमा सहज बनाउन शैक्षिक सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । श्रेष्ठले गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागी दरबन्दी मिलानसमेत गरिएको बताउनुभयो ।
गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले गाउँपालिका विपन्न विद्यार्थीहरुको शैक्षिक अवस्थाप्रति गम्भिर भएको बताउनुभयो । प्रवक्ता श्रेष्ठले कोभिड १९ का कारण विद्यार्थीको पढाई प्रभावित भएपनी अव त्यसलाई समाधान गर्न योजना बनाएर लागीपरेको बताउनुभयो ।
विपन्न विद्यार्थीहरुले बर्षभरीलाई पुग्ने कापी र कलम पाएका छन् । गाउँपालिकाका सबै विद्यालयहरुले भलिबल र नेट पाएका छन् । विपन्न विद्यार्थीले बर्षभरीलाई पुग्ने कापी र कलम तथा विद्यालयले पाएको खेलकुद सामग्रीले अध्ययन अध्यापनमा प्रोत्साहन मिल्ने दोभान माविका प्रधानध्यापक सुर्य प्रसाद पौडेलले बताउनुभयो ।
गाउँपालिकाले लगभग ३०० विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।