सञ्‍चारमाध्यम विधेयक पुनर्लेखन गर्न पत्रकार महासंघ पाल्पाकाे माग

२० असार, पाल्पा । लुम्बिनी प्रदेशमा दर्ता भएको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न पत्रकार महासंघ पाल्पाले प्रमुख जिल्ला अधिकारीमार्फत् मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

प्रजिअमार्फत् तत्काल सञ्चार विधेयक फिर्ता गरी सरोकारवालाहरुसँग छलफल गरी सञ्चारमैत्री विधेयक बनाउन आग्रह गर्दै पत्रकार महासंघ पाल्पाले ज्ञापनपत्र बुझाएको हो । दर्ता भएको विधेयक फिर्ता गरेर पुनर्लेखन नभए महासंघ आन्दोलनमा उत्रने पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयमार्फत् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकरप्रसाद पोखरेललाई ज्ञापनपत्र पठाउँदै विधेयक फिर्ता नगरे जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिइएको छ । विधेयकको उद्देश्य प्रदेशभरका सञ्चारमाध्यमहरूको हकहितको रक्षा गर्ने र नियमन गर्ने हुनुपर्ने थियो । तर विधयेकको प्रस्तावनादेखि अधिकांश धारा उपधारामा सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई दण्ड जरिवनादेखि जेल सजायसम्मको प्रावधान राखिएको अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।

लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि पत्रकार, सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले विगतमा खेलेको अतुलनीय भूमिका बिर्सिएर सञ्चारमाध्यम र पत्रकारहरूमाथि नियमन गर्ने भन्दा नियन्त्रण गर्ने सोचबाट आएको रानाले बताउनुभयो । यो विधेयक आएकोमा महासंघ गम्भीर बनेको बताउँदै सबै सञ्चार सम्बद्ध संघसंस्था, पत्रकारहरू यो विधेयक प्रदेशसभाबाट तत्काल फिर्ता गरेर पुनर्लेखन गर्न माग गरेको सचिव यज्ञमूर्ति तिमिल्सेनाले बताउनुभयो । यही अवस्थामा सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि बढे आफूहरु थप आन्दोलनका कार्यक्रमसहित आउन बाध्य हुने सचिव तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार बोधार्थका रुपमा पत्रकार महासंघको केन्द्रीय समिति र प्रदेश समितिलाई पनि पठाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय