मानु हिस्की
१३ असार, पाल्पा । नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ । पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ बढिको प्रशोधित भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ। पोहोरको जेठसम्म १० अर्ब १३ करोड रूपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएकोमा चालु आर्थिक वर्षको जेठसम्म ४२ अर्ब ३४ करोड रूपैयाँको भटमास तेल निर्यात भएको हो। स्वदेशमा कच्चा पदार्थ उत्पादन नभए पनि विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँका उद्योगले प्रशोधन गरी निर्यात गरेका हुन् ।
नेपालका तेल उद्योगीले ब्राजिल, अर्जेन्टिना, सिंगापुर, मलेसिया लगायत मुलुकबाट भटमासको कच्चा तेल आयात गरेर प्रशोधन गरी निर्यात गरेका हुन्। मुलुकबाट निर्यात हुने प्रमुख हिस्सा भटमासको तेलले ओगटेको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले निरन्तर बढेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेपछि यहाँ उद्योगीले मूल्य घटाउन सुरु गरेका छन्। तेल उत्पादकले तेलको मूल्य प्रतिलिटर १५ देखि ३५ रूपैयाँ घटाएर प्याकेजिङ सुरु गरेका छन् ।
उद्योगीले मूल्य घटाएको बताए पनि उपभोक्ताले सस्तोमा किन्न पाएका छैनन्। बजारमा पुरानो स्टक भएकाले मूल्य घट्न केही समय लाग्ने वाणिज्य विभागले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer