पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नचिन्ने कमै होला । अझ भनौँ मैदान वा रंगशालामा रोनाल्डोको अनुहार मात्रै एकपटक हेर्न उनका समर्थक मरिहत्ते गर्छन् ।
तर, रंगशालाकै एक सुरक्षागार्डले भने उनलाई मंगलबार प्रवेशमै रोक लगाएका छन् । परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न लागेका रोनाल्डोलाई उनले रोकेका थिए । जति नै स्टार खेलाडी भए पनि नियम–कानुन सबैका लागि एकै हुन्छ भन्ने उदाहरण ती सुरक्षागार्डले दिएका छन् ।
पोर्चुगल र हंगेरीबीच मंगलबार राति खेल हुँदै थियो । पुस्कार एरिना रंशगालाको टनेलमा रहेका सुरक्षागार्डले पोर्चुगलका कप्तान रोनाल्डोलाई एक्कासि रोक्दा खैलाबैला नै मच्चिएको थियो । रोनाल्डो पनि अन्य खेलाडीसँगै रंगशालाभित्र प्रवेश गरिरहेका थिए । सुरक्षागार्डले एक–एक गर्दै परिचयपत्र हेरेर खेलाडी र अफिसियललाई भित्र प्रवेश गराइरहेका थिए । यसैक्रममा रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र थिएन । सुरक्षागार्डले रोनाल्डोसँग परिचयपत्र मागे । रोनाल्डोले झुन्ड्याइएको कार्ड त देखाए, तर त्यो केवल गेटपासका लागि मात्र रहेछ । रोनाल्डोले आइडी कार्ड झुन्ड्याउनै बिर्सेका रहेछन् ।
सुरक्षा जाँच हुँदै गर्दा रोनाल्डोले मास्क पनि लगाएका थिए । विश्व स्वास्थ्य संगठन तथा युरोकपको प्रोटोकलअनुसार रोनाल्डोले मास्क निकाल्दै निकालेनन् । सुरक्षागार्डले रोनाल्डोलाई चिने पनि आधिकारिक परिचयपत्रविना भित्र प्रवेश गराउन नसक्ने जनाए । पछि सहकर्मीहरूले आधिकारिक परिचयपत्र ल्याइदिएपछि मात्रै रोनाल्डोेले प्रवेश पाए । यतिन्जेल उनी सुरक्षागार्डले रोकेकै स्थानमै बसिरहे । पछि रोनाल्डोले पनि आफ्नो गल्ती स्विकारे । त्यसपछि उनी रंगशालाभित्र प्रवेश गरे । हंगेरीविरुद्ध रोनाल्डोले दुई गोल गर्दै युरोकपमा धेरै कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन् ।
श्राेत : नयाँ पत्रिका