मानु हिस्की ।
०३ असार, पाल्पा । तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ ।
अविरल बर्षासंगै तानसेन नगरपालिका वडा नं ८ गौडेपुल नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा संचालनमा आएको हो ।
गएको मंगलबार राती पहिरो खसेपछि अवरुद्ध भएको तानसेन – बुटवल सडकखण्डको गौडेपुलमा दुई दिनको प्रयासपछि एकतर्फी रुपमा सडक संचालन गरिएको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिबु खत्रीले जानकारी दिनुभयो ।
तत्कालका लागि सडक एकतर्फी सुचारु भएपनि दुईतर्फी रुपमा संचालन हुने गरी बाटो खुलाउन केही दिन लाग्ने खत्रीले बताउनुभयो ।
गत वर्ष सडकमाथिबाट पहिरो झरेको स्थानमै खोलामा पानीको बहाव बढेपछि कटान गर्दा ५० मिटर सडक बगाएको थियो ।
वर्षा भएमा माथिबाट चट्टानसहितको पहिरो झर्ने जोखिम भने कायमै रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
फोटोः eranimal.com