फुसको छाना रहित जिल्लामै पहिलो गाउँपालिका : बगनासकाली

विजयकुमार बौडेल –
तीन वर्षमा बगनासकाली गाउँपालिकाबाट फुसको छाना विस्थापन भएको छ । विस्थापन संगै बगनासकाली गाउँपालिका जिल्लामै पहिलो फुसको छाना रहित गाउँपालिका भएको हो ।

तिन बर्षमा ६९ लाख रुपैंया खर्च गरि गाउँपालिकाले फुसको छाना विस्थापन गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष ०७४/७५ र ०७५/७६ मा १५/१५ लाख रुपैंया तथा ०७६/७७ मा ३९ लाख रुपैंया बजेट खर्च गरि बगनासकाली गाउँपालिका भरीका विपन्न परिवारहरुको घरमा टिन लगाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बताउनुभयो । सबै विपन्न परिवारको घरमा टिन लगाईसकेपछी एक कार्यक्रमका बीच बगनासकालीले फुसको छाना रहित गाउँपालिका घोषणा गरेको छ ।

फुसको छानारहित गाउँपालिका घोषणा गर्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले संविधानमा नै आवासको हकलाई मौलिक हकमा राखेकोले स्थानिय तहको निर्वाचन अघि घोषणापत्रमा उल्लेख गरिएअनुसार गाउँपालिकाले विपन्न परिवारको घरमा टिन लगाउने योजना सम्पन्न गरेको बताउनुभयो ।

फुसको छाना विस्थापनका लागि बगनासकालीका २ सय ५२ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । फुसको छानाका कारण आगलागी हुँदा ठूलो परिमाणमा धनजनको क्षति हुने गरेकाले विपन्नका लागि जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष बस्यालले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले विपद् व्यवस्थापनका लागि फुसको छाना विस्थापन कार्यक्रम ल्याएको बताउनुभयो । आगलागीको मारमा सबैभन्दा धेरै गरिव तथा विपन्न परिवार पर्दै आएको भन्दै जस्तापाताले गरिब तथा विपन्न परिवारलाई राहत पुग्ने उपाध्यक्ष चिदीको भनाइ छ । उहाँले कहि कतै छुटेको वा समस्या भएको भए पालिकामा जानकारी गराउन आग्रह समेत गर्नुभयो ।

बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोकका समर बहादुर कुमालले गाउँपालिकाले घरमा टिन लगाईदिएकोमा खुसी व्यक्त गर्नुभयो । वडा नं. २ देउरालीकै माया कुमाल पनी गाउँपालिकाले टिन लगाईदिएकोमा खुसी हुनुहुन्छ । कुमालले घरमा टिन लागेसँगै आगलागी हुनबाट पनि जोगिने आशा जागेको बताउनुभयो ।

फुसको छानो हटाएर जस्तापाताको छानो लगाउँदा गाउँ नै उज्यालिएको र थप सुरक्षित समेत बनेको गाउँपालिका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा साखाका सहसचिव कृष्ण कार्कीले विपन्न परिवारको आवास व्यवस्थित गर्नु सकारात्मक कार्य भएको भन्दै उनीहरुको आयस्तरमा वृद्धि गर्ने र जिवनस्तर उकास्ने खालका योजना अघि बढाउन गाउँपालिकालाई सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले फुसको छाना रहित पालिका संगै उनिहरुको आर्थिक आर्यआजनका गतिविधिमा केन्द्रीत रहेर कजेट तथा योजना तयार गर्न सुझाव दिएका छन् । फुसको छाना रहित पालिका घोषणा कार्यक्रमका अवसरमा गाउँपालिको त्रैमासिक बुलेटिन बगनासकाली आवाज स्वास्थ्य विशेष अंकको समेत सार्वजनिकिकरण गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय