रानीमहललाई हनिमुन गन्तव्य होटल बनाउने प्रस्ताव

नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।

तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल आफैं पनि यो प्रस्तावको पक्षमा छैन ।
पर्यटन बोर्ड ऐतिहासिक संरचनालाई होटलमा परिणत गर्न अग्रसर छ । ‘हामी पर्यटनमा विविधीकरण खोज्छौं,’ बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा. धनन्जय रेग्मीले भन्नुभयो, ‘त्यसका लागि फरक खालका उत्पादनमा लाग्नुपर्छ, त्यसमध्ये एउटा उत्पादन हो रानीमहल ।’ रानीमहललाई ‘हनिमुन गन्तब्य’ बनाउन सकिने बोर्डको अवधारणा छ । ‘रानीमहल प्रेमसँग जोडिएको गन्तब्य हो, उहाँ भन्नुहुन्छ, ‘हामी यसलाई नवजोडीसँग किन नजोड्ने ?’

रानीमहललाई हेरिटेज होटेलका रुपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्राउन सकिने बोर्डको अवधारणा छ । बोर्डले आफ्नो अवधारणासहितको प्रस्ताव स्थानीय सरकारदेखि व्यवसायीसम्म प्रस्तुत गरिसकेको छ । बोर्डको अवधारणा अनुसार रानीमहलमा हेरिटेज होटेल रहने छ भने त्यसअगाडी र आसपास रहेको कालीगण्डकी नदीमा भने पानीमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने छ ।

जहाँ ¥याफ्टिङदेखि स्वीमिङसम्मका गतिविधि हुनेछन् । फराकिलो नदी किनारलाई विकास गरी व्यवस्थित गरिनेछ । रानीमहलमा पर्यटक आकषिर्त गर्न सक्दा यसले पाल्पाका अन्य आकर्षक गन्तब्यलाई समेत पर्यटकीय उत्पादनसँग जोड्न सकिने बोर्डको अवधारणा छ । बोर्डका अनुसार हनिमुन टूरमा रानीमहल जाने पर्यटकले यस आसपासमा रहेका भैरव मन्दिर, तानसेन बजारसम्म घुमफिर गर्न सक्नेछन् ।

बोर्डले पहिलो चरणमा हेरिटेज होटेल, वाटर एक्टिभिटी र नदी किनारमा संरचना बनाउने ३० करोड रुपैयाँ लगानीको प्रस्ताव समेत गरेको छ । यस्तो लगानी ३ वर्षको अवधिमा गर्न सकिने र यो क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने बोर्डको अवधारणा छ ।

रानीमहलको अगाडी कालीनदी किनारामा पर्यटकीय संरचना बनाउने र पानीजन्ज गतिविधि संचालन गर्ने सम्बन्धमा भने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम नै अगाडी बढेको बोर्डले जनाएको छ ।

www.onlinekhabar.com बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय