विजयकुमार बौडेल –
नेकपा माधव प्रचण्ड समुहका नेता घनश्याम भुसालले संविधान विपरित भएको संसद विघटन पुर्नस्थापना भएरै छाड्ने बताउनुभएको छ ।
नेकपा माधव प्रचण्ड समुहको भेलालाई तानसेनमा सम्बोधन गर्दै नेता भुषालले सर्वोच्च अदालतले देशको हितमा निर्णय गर्ने भन्दै संसद पुर्नस्थापना हुने बताउनुभएको हो । नेता भुषालले जनताले ५ बर्ष देश चलाउन दिएको जनमतको अपमान गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउनुभयो । ओली एकातिर, जनता, कांग्रेस, नेकपा, वकिल, प्राध्यापक, बुद्धिजीवि अर्काेतिर भएको भन्दै नेता भुषालले संसद पुर्नस्थापना भएपछी ओलीले दल विभाजन गर्ने संकेत गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै अर्का नेता यूवराज ज्ञवालीले नियम कानुन अनुसार सुर्य चिन्ह नेकपा माधव प्रचण्ड समुहकै हुने विश्वास व्यक्त गर्नुभयो । कब्जा गर्ने हो भने जे पनी हुन सक्ने भन्दै नेता ज्ञवालीले पद्धति र प्रणाली अनुसार पार्टी चल्लुपर्ने आफुहरुको माग भएको नेता ज्ञवालीको भनाई थियो ।
भेलामा नेता ओनसरी घर्तीले असंवैधानिक कदमका विरुद्ध जनता जागेको बताउँदै सरकारले आगामी बैशाखमा तोकेको चुनाव नहुने बताउनुभयो । उहाँले संसद पुर्नस्थापना हुने सम्भावना बढको बताउनुभयो । घर्तीले कम्यूनिष्ट पार्टी व्यक्तिवादी भन्दा पनी निति र विधान अनुरुप चल्नुपर्ने बताउँदै ओली त्यसको विपरित गएको आरोप लगाउनुभयो ।
भेलामा संघिय सांसद तथा नेकपा नेता सोम प्रसाद पाण्डेयले पार्टीको बहुमत माधव प्रचण्ड समुहमा नै रहेको दावी गर्दै आधिकारिक पार्टी आफुहरुको भएको बताउनुभयो । जनताले विश्वास गरेर दिएको मतको दुरुपयोग गरेको भन्दै नेता पाण्डेयले ओली समुहलाई सत्ताको मात लागेको समेत बताउनुभयो ।
अर्का नेता ठाकुर गैरेले जनताले दिएको दुई तिहाई मतमाथी विश्वासघात गर्दै ओली निरंकुश बनेको बताउनुभयो । नेता गैरेले संविधान अनुसार प्रधानमन्त्री चल्नुपर्नेमा प्रधानमन्त्रीले संविधान चलाउन खोजेको कारणले आन्दोलन गर्नुपरेको बताउनुभयो ।
भेलामा नेताहरु तुलाराम घर्ती, राजेन्द्र विक, कमल पाण्डेयलगाएतले अन्तत न्यायको जित हुने भन्दै सत्यको बाटो नछाड्न जनतालाई आग्रह गरेका छन् ।