कोभिड १९ को बीमा गरेका कैयौँ व्यक्तिहरूले बीमा कम्पनीहरूबाट भुक्तानी नपाएको बताइरहँदा पाल्पाका बिमितहरुले भने भुक्तानी पाईरहेका छन् ।
नियम अनुसार भुक्तानी माग गरेका बीमितहरुको भुक्तान सहज रुपमा भएको सगरमाथा ईन्सुरेन्स कम्पनी लिमिटेटका पाल्पा साखा प्रमुख करुणा काफ्लेले जानकारी दिनुभयो । कोभिड १९ को बीमा गरेका जनालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको प्रमुख काफ्लेले बताउनुभयो । नेपाल बीमक सघंले आवश्यक कागजपत्रसहित दाबी नआउनु र प्राप्त भएका दाबीहरूमा जाँच गर्न केही अप्ठ्यारा रहेकाले बीमा दाबीहरू फर्स्यौट नभएको बताएको छ ।
सुरुको निर्देशिका अनुसार सरकारी अस्पतालहरूको सबै दाबी तिरिसकिएको र त्यो बाहेक जुन निजी प्रयोगशालाहरूमा जाँच गराइएको छ, त्यसको लागि टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट प्रमाणित गर्न दिने भन्ने कुराकानी भएको साखा प्रमुख काफ्लेले बताउनुभयो । विगतमा सरकारी प्रयोगशाला वा अस्पतालबाट सेवा लिएकालाई मात्रै भुक्तानी दिने भनिए पनि निर्देशिकामा गरिएको संशोधनसँगै निजी प्रयोगशाला वा अस्पतालबाट सेवा लिएका संक्रमितहरूलाई पनि बीमा रकम प्राप्त गर्ने बाटो खुलेको छ ।
पाल्पामा बीमा अन्र्तगत काम गरिरहेको सगरमाथा ईन्सुरेन्स कम्पनी लिमिटेडले ७ हजार ७ सय जनाको बीमा गरेको छ । यसमा १ हजार १ सय १८ परिवार तथा संस्था रहेका छन् । तानसेन साखामा १ सय ५२ जनाले माग गरेका छन् । पाल्पामा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु सहित गाउँपालिकाका ९ जना, तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती, कृषी साखा प्रमुख हेमन्त शर्मा सहित जम्मा तानसेन साखाबाट ४० जनाले बीमा भुक्तानी लिईसकेका छन् भने ६४ जनाको बीमा समितिमा कागज पुगेको र छिट्टै फर्छ्यौट हुने साखाले जनाएको छ ।
तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले कोभिड बीमाले नागरिकको उपचारमा सहयोग पुगेको बताउनुभयो । भदौ २८ गते मापदण्डमा गरिएको संशोधनअनुसार कोभिड १९ को एक लाख रूपियाँको बीमा गराएका व्यक्तिले अस्पतालको बिलमा आधारित रहेर ७५,००० रुपैयाँसम्म उपचार खर्च र २५,००० रुपैयाँ अन्य खर्च पाउनेछन् । नेपाल बीमक संघका अनुसार २५,००० रुपैयाँका लागि बिल भौचरको आवश्यकता पर्दैन । बीमा समितिको मापदण्डमा बीमा कम्पनीले दाबीको निवेदन प्राप्त भएको सात दिनभित्र बीमित व्यक्तिलाई भुक्तानी दिनुपर्ने उल्लेख गरिएको छ । बीमा समितिले गएको साउनमा जारी गरेको मापदण्डमा बीमा कम्पनीले दाबीको निवेदन प्राप्त भएको सात दिनभित्र बीमित व्यक्तिलाई भुक्तानी दिनुपर्ने उल्लेख गरिएको छ ।
नयाँ व्यवस्था अनुसार संक्रमण पुष्टि भएका व्यक्ति होम आइसोलेसनमा बस्नु परेको छ भने रु.१ लाखको बीमा गर्नेले २५ प्रतिशत (रु.२५ हजार) मात्रै रकम पाउनेछन् । बाँकी रकम अस्पताल जानुपरेको र उसले गरेको कोभिड सम्बन्धी उपचारको खर्च आधारमा मात्रै पाइन्छ ।
नयाँ मापदण्ड अनुसार अब कोरोना बीमा सामूहिक मात्रै गर्न मिल्ने भएको छ । यसको अर्थ कुनै पनि व्यक्तिले यसअघि गर्दै आएको व्यक्तिगत बीमालेख जारी हुँदैन । अब पारिवारका सदस्यसहितको मात्रै बीमा गर्न पाइनेछ । बीमा समितिले २१ साउनमा जारी गरेको ‘कोरोना बीमा मापदण्ड २०७७’लाई २८ भदौमा परिमार्जन गरिएको छ । नयाँ मापदण्ड २९ भदौबाटै लागू भएको छ।
कोरोनाभाइरस बीमाको भुक्तानी अब उप्रान्त उचित दाबी भएमा एक हप्ताभित्रै गरिने बीमा समितिले जनाएको छ । “संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट, नागरिकता अनि वडाको सिफारिस आवश्यक हुन्छ । कतिपयले त्यो पूरा पठाएका हुँदैनन्,” प्रमुख काफ्लेले भन्नुभयो । “यी कागजात रितपूर्वक पठाइएका दाबीहरूको अबदेखि भुक्तानी हुनेछन् ।”
कोरोनाको बीमालाई नाफा कमाउने उद्देश्यले मात्र नहेरिएको बीमा समिति तथा बीमा कम्पनीहरूले बताउँदै आएका छन् ।
हाल सम्म सगरमाथा ईन्सुरेन्स कम्पनी लिमिटेडले काभिड बीमा र अन्य सहित गरेर १ करोड ६४ लाख १३ हजार ५ सय ४ रुपैंया भुक्तानी दिन बाँकी छ भने११८ वटा दावी फर्छ्यौट हुन बाँकी छ । अहिले सम्म तानसेन साखाबाट १ करोड ५१ लाख ३२ हजार ५५ रुपैंया प्रिमियम संकलन भएका् साखा अध्यक्ष काफ्लेले बताउनुभयो ।