
विजयकुमार बौडेल –
रिब्दीकोट गाउँपालिकाको सिस्नेरी घाटमा बर्षायाममा बर्षेनी आउने बाढीले त्यहाँका स्थानियलाई आवतजावतमा समेत समस्या भएपछी पुल बन्ने भएको छ ।
गाउँपालिकाले नागरिकहरुलाई परेको समस्या समाधान गर्न पुल निर्माण गर्ने भएको हो । खोला तर्न नसकी वर्सेनी विद्यार्थी विद्यालय जान रोकिने, खाद्यान्न ओसारपसार गर्न नसकिने र विरामी पर्दा समेत खोला हेरेर फर्कनुपर्ने स्थानियहरुको बाध्यता थिो । पुल निर्माणपछि खोला तर्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ भने तर्ने क्रममा कसैले पनि जोखिम मोल्नु पर्ने छैन ।
बिरामी हुँदा पनी अस्पताल लैजान नसकिएको स्मरण गर्दै स्थानीय मनमाया कँवरले पुल निर्माणपछि सहज हुने अपेक्षा गरेको बताउनुभयो । कँवरले पनि पुल बनेपछि सुविधा हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला पारी तर्न कहिले बर्खा सकिएला र खोला घट्ला अनी तरौंला भन्नुपरेको थियो । अव पुल बनेपछी धेरै सजिलो हुने भयो ।”
रिब्दीकोट गाउँपालिका वडा नं. ५ सिस्नेखोलामा बन्न लागेको पुल २८ मिटर लामो हुनेछ । २२लाख २१ हजार २१ रुपैंया २६ पैसा लागतमा बन्न लागेको पुलले ५५ घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । पुल निर्माणपछि यस क्षेत्रमा बर्खामा उत्पादन हुने फलफूल र नगदेबालीलाई बजारसम्म पुर्याउन सहज हुने अध्यक्ष जिसीले बताउनुभयो । पुल बनेपछि विद्यार्थीलाई पनि आउजाउ गर्न सजिलो भएको विद्यार्थी सुदिप भण्डारीले बताउनुभयो ।
दातृनिकाय SWAP, गाउँपालिका र समुदायको संयूक्त लगानी र पहलमा पुल बन्ने भएको हो । सम्झौता अनुसार २०७८ असार ३० गते सम्म पुल निर्माण भईसक्नुपर्ने छ । पुलको काम गर्दा दुर्घटना भएमा कामदारको सुरक्षाको लागी प्रति कामदार ३ बर्षको ज्याला बराबर दश जनाको बिमा समेत गरिएको गाउँपालिकाका शिव जिसीले बताउनुभयो ।
पुल नहुँदा वर्षायाममा वारीको वारी र पारिको पारी रहनुपर्ने, तरेपनी जोखिम मोल्नुपर्ने बाध्यता थियो । हिउँदमा प्राय सुख्खा जस्तै देखिने सिस्नेरी घाटमा बर्खामा ठुलो भेल र बाढी आउने गर्दछ ।