आन्तरिक पर्यटकको रोजाईमा रैनादेवी छहराको तिलकथान पार्क (फोटोफिचर)

विजयकुमार बौडेल – 

आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले रैनादेवी छहरा गाउँपालिकाकाले तिलकथान पार्क निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

गाउँपालिकाले आन्तरिक पर्यटन मार्फत तिलकथानलाई विकास गर्न प्राथमिकताका साथ पार्कको निर्माण प्रक्रिया अगाडि बढाएको हो । गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेर डिपिआर तयार गरि योजना कार्यान्वयन गरेको छ । तिलकथान पार्कको विकासका लागी ५ करोड रुपैंया बराबरको डिपिआर तयार गरिएको गाउँपालिकाले जनाएको छ ।


अहिले पार्क निर्माण क्षेत्रमा गाउँपालिकाहरुको सीमित रकमबाट कार्य भईरहेको छ । गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले पार्कहरु बनाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्ने वातावरण सिर्जना गर्ने भन्दै पार्क निर्माण गर्न सजिलो भएपनी त्यसलाई व्यवस्थापन तथा संरक्षण गर्न धेरै अप्ठ्यारो भएकाले चुनौती रहेको बताउनुभयो । शनिवार तथा विदाको बेला २ सय जना भन्दा धेरै आन्तरिक पर्यटकहरु तिलकथान पार्कमा समय विताउन आउने गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।


अध्यक्ष कार्कीले महत्वपूर्ण योजनाका साथ पार्क निर्माण गर्न प्रदेश तथा संघिय सरकार संग समेत पहल गर्ने बताउनुभयो । पार्कमा भ्यू प्वाईन्ट, पिकनिक स्पट, हेलीप्याड, बाल उद्यान, वाटर फल्स, प्रक्रिति मैत्री बगैंचा, गोल घर, मन्दिर, सभाहल, वाकिङ स्ट्रिटलगायतका संरचना निर्माण गर्ने योजना रहेको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

तिलकथान पार्कको लागी गाउँपालिकाले पहिलो बर्ष ४० लाख, दोश्रो बर्ष गाउँपालिका बाट १५ लाख र प्रदेश बाट १० लाख तथा तेश्रो बर्ष ५ लाख रुपैंया बजेट विनियोजन गरेर काम गरिरहेको छ । पार्कमा पिकनिकको लागी आउनेहरुको सुविधाको लागी एक लाख ५० हजार रुपैंया बजेट विनियोजन गरेर विद्युत विस्तार गर्न लागिएको गाउँपालिकाले जानएको छ । पार्कमा आउने तथा अन्य नागरिकहरुको लागी खानेपानीको व्यवस्थाका लागी एक लाख लिटरको टंकी बनाईएको छ । देशभरका २०/२२ जिल्ला बाट कृषी विषय पढ्न आउने स्थान भएकाले विद्यार्थीहरुको लागी पनी लक्षित गरेर फ्रि वाईफाई जोन बनाउने तयारी रहेको गाउँपालिका प्रवक्ता पोखरेलले बताउनुभयो ।


“पार्क अहिलेको जेनेरेसनको अभिन्न अंग बन्न थालेको छ”, स्थानिय सामाजसेवी तथा पुर्व डिआईजि राम कार्कीले भन्नुभयो, “आफ्नो क्षेत्रमा थप हरियाली विस्तार गर्न र फुसैदको समयमा मन बहलाउने स्थानको रुपमा विकास गर्न पार्क बनाउन लागिएको हो ।” पार्क भनेको मुलुक धनी भएपछि विलासिताका लागि बनाउनुपर्ने नभएर शहरको न्यूनतम आवश्यकता भएको समाजसेवी कार्कीले बताउनुभयो । मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, शहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको भन्दै बहुआयामिक कामका लागि पार्क चाहिने भएकाले निर्माण थालेको गाउँपालिका अध्यक्ष कार्कीको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम बाट १० जना कामदारलाई १०० दिन काम गराएर तिलकथान पार्कको सरसफाई तथा निर्माण कार्य अघि बढाईने गाउँपालिका प्रवक्ता पोखरेलको भनाई छ । यसले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरतालाई थप झल्काउने स्थानीयको विश्वास छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय