विजयकुमार बौडेल –
तिनाउ गाउँपालिकाले प्रविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई महत्व दिँदा विद्यालय तथा विद्यार्थीहरु उत्साहित बनेका छन् ।
प्राविधिक शिक्षाले विद्यार्थीको क्षमता अभिवृद्धि सहित रोजगारिको अवसर समेत सिर्जना गरिदिने भएकाले सिकेको सिपलाई व्यवहारिक रुपमा प्रयोग गराई सिर्जनशिल बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्राविधिक शिक्षालाई महत्व दिँदा विद्यालय तथा विद्यार्थीहरु उत्साहित बनेका हुन् ।
मुलुकमा बढ्दो बेरोजगारिका कारण विद्यार्थिहरुको आकर्षण पनि प्राविधिक शिक्षा तर्फ नै बढे्को छ । खास गरि खाडि देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्न स्तरिय र जोखिमयुक्त काम गर्न बाध्य भएकाले प्राविधिक सिप लिएका युवाहरुले आफै रोजगारि सिर्जना गर्न सक्ने ,अन्य रोजगारिमा काम गर्दा पनि राम्रो तलब पाउने ,सिर्जनशिल र मेहेनति हुने भएकाले गाउँपालिकाले प्राविधिक शिक्षालाई महत्व दिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।
नेपालले सन् २०३० सम्ममा सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने, भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी एवं मर्यादित कामको प्रवर्धन गर्नेलगायतका दिगो विकासका लक्ष्य तय गरेको छ । सोही लक्ष्य पुरा गर्ने उद्देश्यले गाउँपालिकाले प्राविधिक शिक्षामा लगानी बढाएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो ।
प्राविधिक शिक्षा अत्यन्त महंगो हुदै गएको र सामुदायिक विद्यालयमा यसको पहुँच नभएका कारण गाउँपालिकाले नै प्राथमिकता दिएर प्राविधिक शिक्षामा अनुदान दिएको प्रवक्ता श्रेष्ठको भनाई छ । पहिलो प्रयासको रुपमा दोभान मावि लाई छनौट गरि सामाजिक र आर्थिक विकासमा टेवा दिने प्रयास गरेको अध्यक्ष घर्तीले बताउनुभयो ।
गाउँपालिकाले ५० हजार रुपैंया अनुदान दिएर दोभान माविका ४० जना विद्यार्थीहरुलाई ५ दिने रोबट निर्माण तालिम दिईएको छ । तालिमबाट विद्यार्थीहरुले मेसीनरी सामग्री जडान, त्यसको प्रयोग, प्रतिफल लगाएतका विषयमा सिकेका छन् । व्यावसायिक रूपले नभए पनि विसं २००४ सालदेखि नेपालमा जीवन उपयोगी प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन सुरु भएको थियो ।
५ दिन सम्म चलेको तालिमबाट विद्यार्थीहरुले निर्माण गरेका सामग्री प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश सांसद तुलाराम घर्ती बसन्तले अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसंग गाँसेर हेर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । अहिलेको शिक्षा प्रणाली परिमार्जन गरि प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवा शक्ति विदेश पलाएन हुने क्रम पनि न्युनिकरण हुने घर्तीको भनाई छ । व्यावहारिक र आत्मानिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रुपान्तरण हुने भएकाले प्राविधिक शिक्षाका अति नै आवश्यकता देखिएको घर्तीले बताउनुभयो ।
२००९ सालको राष्ट्रिय शिक्षा आयोगको प्रगिवेदनले आधारभूत विद्यालयलाई विस्तापित गरी बहुउद्देश्य माध्यमिक विद्यालयको अवधारणा अगाडि लिएपछी विभिन्न तरिकाले प्राविधिक शिक्षा सञ्चालन हुँदै आएको छ ।