बंगुर पालेर बार्षिक १० लाख कमाउने रिब्दीकोटका शिक्षक

विजयकुमार बौडेल

रिब्दीकोट गाउँपालिकाका जिवन कुँवरलाई बंगुरका पाठापाठी स्याहार गर्दैमा फुर्सद छैन । विद्यालयमा अध्यापन गर्ने उहाँ साँझ विहानको फुर्सदमा बंगुरका माउ र पाठापाठीको स्याहारमा व्यस्त हुनुहुन्छ ।
जागिरे समय बाहेक अरु समयमा व्यवसायिक बंगुर पालन गर्ने सोंचका साथ बङ्गुर पालनमा लागेको उहाँ बताउनुहुन्छ । जागिरे जीवन सहित समय कटाउन गरेको व्यवसाय उहाँको लागि अहिले राम्रो आम्दानीको स्रोत पनि बनेको छ ।
गाउँपालिकाले किसानका लागी बंगुरका पाठापाठी अनुदान दिने निर्णय गरेपछी उहाँको व्यवसाय झनै फस्टाएको छ । अहिले उहाँको खोरमा १६ वटा माउ र पाठापाठी रहेका छन् । माउले बच्चा जन्माउन नपाउँदै माग भईहाल्छ ।


रिब्दीकोट गाउँपालिकाको बतासे बजार बाट करिव ८ सय मिटर भित्र उहाँको बंगुर फर्म रहेको छ । उहाँले फर्ममा बंगुरको रेखदेखका लागी ३ जनालाई रोजगारी समेत दिएर राख्नुभएको छ । आवश्यक परेको बेला ज्यालादारीमा समेत कामदार बोलाएर काम गराउने उहाँ बताउनुहुन्छ । उहाँले अहिले बंगुर फार्मबाट बार्षिक १० लाख रुपैंया सम्म कारोबार गर्ने गरेको बताउनुहुन्छ ।
एउटा पाठीको मूल्य ५ हजार रुपैंया पर्छ । ३÷३ महिनामा ब्याउने र एक पटकमा १२ देखी १५ वटा सम्म बच्चा जन्माउने भएकाले मासुको लागी भन्दा पनी बच्चा बेच्ने गरि व्यवसाय गरिरहेको उहाँले बताउनुभयो ।
“अहिलेसम्म मैले बंगुरको पाठापाठीको माग पु¥याउनै सकेको छैन ।” उहाँ भन्नुहुन्छ । “गाउँपालिकाले किसानलाई बंगुरका पाठापाठी अनुदान दिने निर्णय गरेपछी त जती पनी माग हुन्छ ।”


“अरु त के कुरा गर्नु ? माउले बच्चा जन्माउन नपाउँदै, पहिले नै अर्डर आउँछ’ उत्साहित हुँदैै उहाँ भन्नुहुन्छ । “ग्राहकको माग थेग्नै गाह्रो परेको छ ।” उहाँका अनुसार बङ्गुरको मासुभन्दा बच्चा बेच्दा बढी फाईदा हुन्छ । दाना कम लाग्ने र थोरै खोर भए पनि पुग्ने भएकाले पाठापाठी उत्पादन तथा बिक्री बितरण गर्ने गरेको उहाँको भनाई छ ।
“अहिले मेरो फार्ममा ब्राह्मण, क्षेत्रीहरु पनी बंगुर पाल्नकै लागि पाठापाठी किन्न आउँछन् ।” उहाँले भन्नुभयो । उहाँ सँग अहिले पक्की खोर छ । बंगुर फार्ममा आफू संगै श्रीमती सिता कुँवर र थप तिन जनालाई रोजगार समेत दिईरहनुभएको छ ।


यो व्यवसाय शुरु—शुरुमा धौ भए पनि गर्दै जाँदा बुझिने र पाल्न सजिलो हुने उहाँको अनुभव छ । रिब्दीकोट गाउँपालिका कृषी साखाका रञ्जिव कुँवरले पढे लेखेकाहरु पैसा कमाउनका लागि जागिर मात्र खानुपर्छ भन्ने मान्यता गलत भएको भन्दै उहाँले साँच्चिकै पढेको कुरा व्यवहारमा लागु गर्ने हो भने व्यवसाय गर्नुपर्नेमा जोड दिनुहुन्छ । “गरे के हुँदैन र ?” उहाँको मेहनत, लगनशिल र प्रगतिले परिवार खुसीमात्रै छैनन ्। उहाँको व्यवसाय देखेर अरुले पनी बङ्गुर पाल्न लागेका छन् ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कम मेहनत र कम लगानीमा छोटो समयमा मनग्गे आम्दानी गर्न सकिने भएकाले हरेक जातजातिका मानिसले यो व्यवसाय सुरु गर्न थालेको बताउनुभयो । अध्यक्ष जिसीले किसानका लागी बंगुर पालनका लागी बच्चाल अनुदान दिने कार्यक्रम सञ्चालन भईरहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय