
ओह ! सर्वश्रेष्ठ मानव
तेरो भोक मेट्न
कसरी यहाँ आइपुगे
जस्को कुनै हिसाब नै छैन ।
त अघाउनु अघि
पिठो भित्र पोको पर्दै थिए
रक्सीलाई सितन बन्दै थिए
हरेक ठुला पार्टी होस या भोज भतेर
होटल होस या फुट्पाथ
मेरा दु:ख लुकेर बनेका छन
तेरा लागि धेरै परिकारहरु ।
मालिकको हात बाट बेचिए पछि
छुटेको थियो मेरो सुन्दर चरन
पेट भरीको घाँस
आँत भरिने प्यास
जबर्जस्ति चढाईदै थियो
ट्रक को टाली भित्र
दलालहरुको लाठि खेप्दै
नमिठो यात्राका लागि
निस्कदै थिए म ।
हाम्रा नाकमा नेति लगाई यसरी
उभ्याँइएको थियो
जहाँ आँखालाई मोड्न सिवाय
हलचल गर्न बर्जित थियो
खुट्टा कुजिएर पनि उभिनु पर्ने
एक अर्काका शरीर रगडिएर
रगत चुहिदा पनि सहनु पर्ने
यो कस्तो नियत हो तेरो ?
लामो यात्रामा थकानको कुनै प्रवाह नगरी
झ्याँकिदै उफार्दै लत्रदै घस्रदै
लथ्रक्क शरीर छाडेर बस्न खोज्दा खोज्दै
मै माथी टेकेर
मेरै टाउकामा लौरो बर्साएर
जुरुक्क उठाउँदा
नाक बाट निस्केकाथिए
रगत र र्यालका फोहरा
आँखा बाट वर्षिएका थिए आँसु
तर पनि
तेरो मनमा दया देखिन।
सायद
त्यो अन्तिम रात थियो
तलाई यति दयालु देखे
त भित्र पनि ईश्वर रहेछ भन्ने लाग्यो
र चयनको श्वास फेरे
किनकी सबै बन्धनबाट मुक्त थिए म
त्यसैले तेरै पछी लागे खोच्याउदै खोच्याउदै
सोच्दै थिए भोक प्यास मेटिदैछ आज मेरो
तर पत्तै भएन मलाई
मेरो भोक नमेटिदै
तेरो भोक पो मेटाउदै रहेछु
आयाम कार्की – सहित्यकार