नारायण अधिकारी –
सेनी उकालिको फेँदिमा ठुल्याइँको भट्टी पसल थियो। बटौली जाने र आउने ढाक्रेको धुइरो ।चाहा खानेको ताँती ।मोटी , मोटी थसुल्ली हाम्री माहिली ठुल्याँ – ढाक्रेलाइ सराप्दै चिया दिँदै हुनुहुन्थ्यो – म आमाको पछि लाएर मावल जादैतस उहाँकहाँ पुग्दा ।
– मलाइ देखे पछि पुरै दाँत देखाएर हाँस्दै आउनुभो र – लौ आएछ, काले मोरो साँइधो -भन्दै काखमा राखेर कपाल मुसार्नुभो ।
– भोकायो होला, के खान्छस – भन्दै एउटा सिङ्गै लोलो राजा बिस्कुट दिनुभो ।मैले पनि खोल च्यात , चुत पारेँ र बिस्कुट खाएँ ।
एउटा सिग्रेट सल्काएर आमालाइ दिनुभो ।आमाले पनि मुठी पारेर , कान्छी औंला पट्टि सिग्रेट चाँपेर स्वाई- स्वाई तान्न थाल्नुभो।फालेको धुवाँमा उहाँका पीडाहरु बुङ्बुङ्ती उडे ।
ठूली आमाले चिया पकाएर सिसाको गिलासमा राखेर ल्याउनुभो ।एउटा गिलाँस आमालाइ दिएपछी – लौ चाहा खा जुके , भन्दै मलाइ दिनुभो।घरमा चिया खासै खाइन्नथ्यो – कतानो खाए पनि कटौरामा खन्याएर सेलाएपछी मात्र खान्थेँ। सिसाको गिलाँसमा चिया खाएकै थिएन ।सिसाको गिलाँसमा घेरा ,घेरा भएको चिया दुई हातले समाएं र सोरोत्त पार्दै मुखले तानेँ।सिसाको गिलाँस – बाहिर सित्तल भएपनि भित्र तातो हुनिरैछ ।चिया मुखभरी आयो ।
ओहो , चिया त बिघ्नै तातो रैछ – ओँठ , मुख , जिब्रो र तर्कुलो जम्मै पोल्यो । केही निलेँ , केही आत्तिएर थुकेँ ।
– आमा , जिउरो पोल्यो , भनेँ।
-हेत्तेरी , मैले बोड्को ल्याउदै थिएँ- कहाँ खाइभ्याएछ , भन्दै ठुलिआमाले गिलाँसको चिया कटौरामा खन्याएर सेलाउन हाल्दिनुभो।अनि बिस्तारै खाएँ तर मुख भब्बाइरह्यो।मुख बन्द नगरी कुकुरले जस्तै जिब्रो निकालेर सास तान्दै सित्तल बनाउन खोजेँ।भत्भती पोल्यो।
हामी मावल उकालो लाग्यौं।
साँझ मावल पुगेर पिरो , पिरो – चर्को ,चर्को तिहुनमा मुछेर माइजूले दिएको खाजा मुखमा के हाल्याथेँ – चहर्याएर बस्न खान भएन ।
-आमा ! जिउरो डामेछ , खानै मिलेन -भनें ।आमाले – खान नमिले दुध सित मात्रै खा , तिहुन नखा भन्नू भो ।मैले त्यसै गरें।
– हैन माइल्देइले भौरै खुवाइछन क्याहो भानिजलाइ ?भातै खान मिलेन गरे जिउरो डामेर – भनेर मामाहरु गलल्ल हाँस्नुभो ।तर मेरो जिब्रो भने टट्टाइ रह्यो ।एक दुई दिन पछि आफै सन्चो भो ।
चाहाले बेसरी तर्सायो ।
त्यसपछी मैनाएक जति त्यो जिब्रो डाम्ने चियै खाइन।