
नारायण अधिकारी –
सानैँ थिएँ । राम्दिमा पुल हाल्दै छन , घाउ – चोट नलागेका सग्ला केटाकेटी छोपेर बन्दै गरेको पुलमा चढाउन लैजान गाउँ , गाउँमा मान्छे डुल्याछन – भन्ने हल्ला चल्यो।
-हेर है , बाहिर – बाहिर नडुलओ । छोपेर लैजाला र पुलमा लगेर काट्ला नि ,भन्दै बूढा पाकाले पनि डराउन दिए।गाउँमा नयाँ मान्छे आएपनि – हाम्लाइ छोप्नै आको हो कि भनेर थरिकम्प हुन थालियो , हामी केटाकेटी।
एकदिन साँझ , बा – आमाले गुन्थुन ,गुन्थुन गरेको सुनेँ ।
– पुलमा चढाउन केट्केटी खोज्दै हिँड्याछ भन्छन । केटिहरुका त नाक – कान छेँडाइदेको हो ।केटाको बाँकी छ – क्यार्नी होला ?
– के गर्ने हो र ? हुमिनमा सुनारहरुले छेँड्दिन्छन भन्ने सुनेइ छु। केटो डोर्याउदै लाने , कान छेँडाएर ल्याउने ।कान छेँडेसी बिटुलो हुन्छ , कसैले छोपेर लान्न ।
अब कान नछेँडे पार राम्दी लगेर , बगैंचामा भेजा गर्दा बोका काटेर चढाए झैँ मलाइ पनि चढाउछन भनेर मेरो सातो पुत्लो उड्यो ।
– एक दिन बिहान ,पिँडिमा बसेर हिजो साँझको बासी कोदाको रोटो दहिमा डोबेर खाँदै थिएँ – कुटुरो बोकेका एकजना मान्छे – को हुनुन्च घर , भन्दै आएर डिलमा बसे।
बा , आमा दिदिहरु सबै बाहिर निस्कनु भो।
– लौ हजुर! केटाकेटी छोपेर राम्दिको पुलमा लगेर काट्न थाले भनेर था पाउनु भाकै होला केरे।गाउँ का केट्केटी त जोगाउन परो नि भनेर नाक – कान छेँड्दै हिँडेक्छु ।कोहि भा लेउनुस ।छिटो गरम, अन्त पनि जान परो नि ,सबैका केट्केटी जोगाउन पनि परो, परेन त ? भने आगन्तुकले।उनी त हुमिनका सुनार बा रैछन । नभाको हल्ला चलाएर सुनको बेपार गर्न सिपालु ।
-ओहो! धन्न आयौ ।यहाँ कत्रो तरास थियो – बाले भन्नुभयो।
– ल लेउनुस , को को हुनुन्च नाक , कान छेंडाउन पर्ने ।
– हाम्रो त यै केटो बाँकी हो , नानिहरुको त छेँडेको हो – आमाले भन्नुभो।
मलाइ बाले चरप्प समाउनुभो। सुनार बाले कानका लोति समाए , कुटुरो फुकाएर पहेँलो सुइरो झिके र त्यही सुइरोले – चोडोक्क पार्दै कान छेँडिदिए ।
– ऐयानी ! दुखेर खप्न खान भएन ।
अब आर्कापट्टी – भन्दै अर्को कानको लोति पनि आमाले टपरी खुट्दा सिन्काले पात छेँडेझै झोडोक्कै पार्दिए ।अनि सनासोले दुबै टुप्पा समाएर बटारिदिए ।कानमा सुनका मुन्द्रा त झुन्डिए तर मेरा दुबै कान रनन्न रन्किए ।
– ए आमा हौ! दुख्यो के भन्दै रुन थाल्दा – रोनेलाइ त छोड्दै छोड्दैनन, लगि हाल्चन – भनेर गतिलरी रुन पनि दिएनन , राक्षसले ।
आमाले सालको पातमा तेल , बेसार ल्याएर लाइदिनु भो, बिपत्ता दुख्यो।
आफ्नो हिसाब किताब बुझेर सुनार बा पारी गाउँ तिर लागे । अब बल्ल म धक फुकाएर रुन पाएँ।
कान त दुखेकै थिए , तर – अब राम्दिको पुलमा लगेर कसैले काट्दैन भन्ने कुरामा म ढुक्क भएँ र मेरा बा आमा पनि ढुक्क हुनुभो !