हावाजहाज चढ्दा
नारायण अधिकारी –
२०४१ साल , बि . ए . मा पढ्दा पढ्दै छोडेर अस्थाइ जागिर खान पर्बत पुगेँ।सडक यातायातले नछोएको कुमारी केटि जस्तो पबित्र थियो पर्बत जिल्ला ।नाउडाँडा बाट खच्चरको ताँती सित सङ्गै पैदल यात्रा गरेर बाटोमा बास बस्दै कुश्मा पुगेथेँ , त्यो बेला ।
दाइले आवा गरेर बोलाएको हुनाले गएको भोलिपल्टै सुब्बा साब भैहालेँ ।अब के चाहियो ? गड्कन्दास ।सबैले सुब्बासाब भन्दै नमस्ते गर्ने, होटेलमा भात खाने , दुधैदुधको चिया र सेल रोटिको अर्नि खाने ।कलेज पढ्दा गोजामा दुई रुपियाँ नहुने केटोको जीवन शैली एकाएक बदलियो।
मैना मोर्दा गचक्कै तलब आयो – टाक टुक बाह्र सय।तीन मैना बिताएपछी चैते दशैँमा घर जान मन लायो ।
गाडी नचल्ने जुग , कुश्मा पारी बाग्लुङको बलेवामा एयर्पोट थियो।हवाइ जहाज नियमित चल्थ्यो।पोखरा सधैं जान्थ्यो , काठ्मान्डु र भरतपुर पनि जान्थ्यो। मलाइ पनि प्लेन चढेर पोखरा गै त्यहीँबाट घर जाने मन भो।दाइलाइ सुनाएँ।
– जानेभा जा , ९५ रुपैयाँ लाग्छ केरे , दाइले भन्नुभो।उहाँकै सल्लाह अनुसार सरकारी कोटाको टिकटमा जाने भएँ।
सरकारी कोटाको टिकट लिन सि डि ओ को सिफारिस चाहिन्थ्यो । सि डि ओ साबले – निज ब्यक्ती जिल्ला प्रशासन कार्यालय पर्बतका ना सु हुन, टिकट उपलब्ध गराइ दिनु हुन – भन्ने ब्यहोराको सिफारिस बनाइदिए।
म बिहानै उठेर झोला बोकि दुई घन्टा हिँडेर बलेवा पुगेँ।काउन्टर मा सि.डि . ओ. ले दिएको सिफारिस र सयको नोट बुझाएँ । नारायण अधिकारी ,बाग्लुङ्ग टु पोखरा – भनेर रातो कार्बन राखेर छापिएको टिकट र पाँच रुपैयाँ मेरो हातमा पर्यो – हावाजहाज को टिकट।
प्लेन आयो , मेरो बोर्डिङ भयो।RNAC लेखिएको सानो प्लेन । सिट नं खोज्न गाह्रो भएन ।बसेपछी घ्वाँ— गरेर कानै खानेगरी करायो ।एउटि नानी थालमा कपास र चकलेट लिएर बाँड्दै आइन , चकलेट खान र कपास कानमा कोँच्न रहेछ।please fasten your safety belt भन्ने रातो अक्षर स्क्रिन मा देखियो । पेटि बाधनु पर्ने रहेछ ।बाध्ने प्रयास गरेँ , मरे सकिन ।प्लेन कुद्न थाल्यो – पेटि बाँध्न जानिन।फसाप , फसाप परें।छेउमा एउटि गुरुङ नानी रैछिन , उनलाइ पनि पेटि बाध्न न आएर म तिर हेर्दिरैछिन , मैले उनलाइ ।
जम्मा १२ मिनेटको यात्रा , पाच मिनेट फसापिएपछी फेडेक्क गर्दै पेटि लाग्यो । बल्ल ढुक्क भएँ।तर प्लेन घान्द्रुक पुगिसकेछ। फनक्क घुम्यो र पोखरामा ओर्लन थाल्यो ।चर्के पिङ खेल्दा झैँ मन सिरिङ्ग भयो ।तल साना सुङ्गुर जत्रा देखिएका घरहरु बिस्तारै ठूला हुँदै गए र घेचेक्क गर्दै भूइमा टेकेर प्लेन कुद्यो र सुस्तरी रोकियो ।मेरो हावाजहाजको यात्रा त सकिएछ ।फेरि पेटि फुकाउनु पर्ने भो ।अहिले भने सकस भएन , अघि चकलेट दिने नानिले फुकाइदिइन र म बाहिर निस्केँ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय