खसिको भुटुवा
नारायण अधिकारी
केटाकेटी अबस्था , मासु भनेपछि हुरुक्कै।आज भोलि जस्तो कहाँ मासु खाइरहन पाइन्थ्यो र ? खसी काट्ने भनेको साउने सक्रान्ती, ठूलो दशैँ र चैते दशैँ मा मात्र ।गाउँ मा खसी काट्दा ठूलै उत्सब जस्तो हुन्थ्यो। गाउँ भर्का मान्छे भेला हुन्थे, खसी काट्ने , कट्नेसि ( भुटुवा) पकाउने , भाग बिलो लाउने , खाने र भाग पुग्दो धार्नी – बिसौली मासु घर लाने गर्थे ।
साउने सक्राती मा अरिकुनामा खसी काट्ने कार्यक्रम रैछ। बाले मलाइ पाँच रुपियाँ र एउटा कोराको रुमाल दिएर भन्नू भो – जा त , अर्कुनामा खसी काट्ने हैछ , दुई शेर मासु लेर आइज ।
म त कति खुशि भएँ कति ।हुर्रिदै अरिकुना पुगेँ। मान्छे सबै जुटिसक्याथे। एकजनाले नाम लेखेर पैसा जम्मा गर्दै रैछन ।मैले पनि पाँच रुपैयाँ दिएर नाम टिपाएँ।
– तँ को होस ?
पारी बाहुन्दाइको छोरो ।
कति लाने हो मासु ?
दुई सेर।
खै पैसा ले ।
मैले पनि निलो/ हरियो पाँचको नोट थमाइदिएँ।
मेरो त के गनिता – मनिता हुन्थ्यो र ?बाको नाम दर्ता भो , अब दुई शेर मासु पक्का ।
आन्द्रा , भुँडी , गाले – गुले कान , पूच्छर ,रगत र भित्री मासु जम्मा गरेर कट्नेसी बनाए । ठूल्ठूलालाइ दुनामा दिए , हामी ससाना केट्केटिलाइ हातमा।
– ल , छौँडा मुर्धार – भातका कालहरु, यता आहो !-, एकजना रातो बर्णको मान्छेले हामी ससाना भूराहरुलाइ हकार्दै बोलाए।
– ल , हात थापहो, गिद्धहो – भन्दै रस चुहेको टपरिबाट हाम्रा साना, साना हातमा २/३ टुक्रा पर्नेगरी भुटुवा राखिदिए ।
अहा ! कति मीठो हो ? अलि धेरै दिए पनि त हुन्थ्यो नि !
हे बरै! किन दिन्थे ?
राम्रो सङ्ग नपखालिएको आन्द्राका टुक्रा टोक्दा भित्रको लादी सितको पिचित्त हरियो पानी निस्के पनि मिठै मानेर खाइयो , हामी केट्केटिले ।
मासु उठाउन नाम बोलाउन थाले ।म ठनासेर बसेँ।
-पारी बाहुन्दाइ —दुई शेर ।
म अघि सरेँ ।
सानो टपरिमा दुई शेर मासु दिए ।
ओहो ! मलाइ त स्वर्गको कल्पबृक्ष पाए झैँ भयो।
हत्त न पत्त कोराको रुमालमा पोको पारेँ र घरतिर दगुरेँ।
आमाले मासु नखाने हुँदा बा आफैले त्यो मासु घ्यू र तेल मिसाएको धेरै जो भुटुन हालेर कराहिमा भुटेर पकाउनु भो ।मासु र भात खान पाउँदा त पूरै कसौंडी रित्याउँ झैँ भो ।तर म जस्तो पोषण नपुगेको जुके केटोले कति खान सक्नु ?ल्याप्पै अघाइ हालियो ।धेरै खानै सकिएन ।
यसरी साउने सक्रान्तिमा अघाउन्जेल मासु भात खाइयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय