हड्डी चुस्दा अर्काको थालमा
नारायण अधिकारी
५०/५१ सालतिर होला , सुमनले राष्ट्र बैंकमा जागिर खुल्याछ , फारम भर्न आउ भनेर खबर पठायो । म पनि भए भरका प्रमाणपत्रहरु बोकेर बटौली झरिहालेँ । त्यहाबाट रात्री बसको टिकट काटेर काठमान्डु सुइँकिएँ ।
बसले एक्कासी मुग्लिङ पुगेर खाना खान रोक्यो ।निन्द्राले प्याक, प्याक पारेको ,उसैमाथी भोक।लौ , खाना खान झर्नुस है – भन्दै खलाँसी चिच्यायो।बसका सबै झरियो।स्टाफहरुलाइ त छुट्टै कोठामा लगेर भुटुवा मासु र घ्यू सङ्ग खाने ब्यबस्था रैछ । हामी लखरपाँडे पसिन्जर्लाइ त दालको टुर्रो , मुलाको तिहुन र जर्रो भात ।माग्दै नमागी हत्त न पत्त झोल मासु पनि तेर्साइदियो।नखाम कि झैँ पनि भाथ्यो, तर मुलाको तिहुन भन्दा त मिठै होला नि भनेर खाने बिचार गरें।
अरु तीन जना हाम्रै बसका पेसिन्जर पनि म बसेकै टेबलमा आएर बसे- खाना खान -फुस्स , फुस्स दारु र लसुन बसाउदै।ती मध्य एउटा यमानको जिउसितको बजभुल्ले त मेरै छेउमा बस्यो ।तिनिहरुले मासुभात सङ्गै क्वाटर समेत मगाएर गफिदै खाँदै गर्न थाले।
मैले मासुको एउटा चौटो समाएँ, त्यो त बाख्राको घुँडाको हड्डी परेछ – गतिलोगरी नपाकेको । त्यस्लाइ दुई औंलाले चाँपेर बेरिएको मासु दाँतले तान्दै थिएँ- हड्डी अचानक फुत्कियो र त्यही बजभुल्लेले भात खांदै गरेको थालमा – ठ्वाक , गर्दै बजारियो।
हे इश्वर , भगवान ,पशुपतिनाथ !अब यस्ले मलाइ मार्ने भो, भनेर बिघ्नै डराएँ।निधारमा पसिना छुटे।त्यले त मलाइ एउटै हातले उठाएर बाहिर हुर्याउन सक्छ।गल्ती मेरै हुने भो।
फेरि झ्याप्प सोँचे – हात जोडेर माफी माग्छु र – अर्को मगाएर खानुस , पैसा म तिर्छु , भन्नुपर्यो।
आफ्नै साथितिर फर्केर गफिएको बजभुल्लेले मेसै पाएनछ । थालमा हेर्यो, मेरो हातबाट खसेको हड्डी समायो , एकफेरा चुस्यो । मैले थुतेर निखारेको हाडबाट के आउथ्यो र! त्यसलाइ टेबुलमा राख्यो र ठुल्ठुला गास भात सपासप खायो।
अब भने म ढुक्क भएँ।थालको भात सकेर चुठ्न निस्किहालेँ । सबै बसमा बसे।बस कुँद्यो। सबै यात्रु निदाए तर मेरो मनमा कुरा खेलिरह्यो – निन्द्रा लागेन । यसो पछाडी हेरेँ- मेरो जुठो हाड चुस्ने मोटे भने टाउको सिटमा अड्याएर घुरिरहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय