
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिनाउ, पाल्पाको बैठकले संगठनलाई मजबूत गराउने र कार्यकर्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशका सदस्य दधिराम न्यौपानेले प्रतिनिधि सभा भंग भएको विषय अदालतमा विचारधीन रहेको र निर्वाचन आयोगले कसलाई सूर्य चिन्ह दिने भन्ने विषयभन्दा पनि किन र के कारणले पार्टीमा यस्तो अवस्था सिर्जना भयो भन्ने महत्वपूर्ण कुरा रहेको बताउनुभयो । न्यौपानेले कार्यकर्ताहरुलाई बैसाखमा हुने निर्वाचनका निम्ति तयार रहन निर्देशन दिनुभयो ।
न्यौपानेले पदका निम्ति भएको लडाइँले पार्टीमा विग्रह आएको बताउँदै सिद्धान्त,नीति र कार्यक्रमका सन्दर्भमा पार्टीलाई अघि लैजानु पर्ने बताउँदै जनताका आशालाई पार्टी विभाजनले पूरा गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा पाल्पाका अध्यक्ष एवम् प्रदेशसभा सदस्य नारायण आचार्यले विकाससँग पार्टीलाई जोडेर लैजान सकेमा मात्र पार्टी जीवित रहन सक्ने र त्यसका निीम्त पार्टी कार्यकर्ताहरु अग्रसर हुनु पर्ने बताउनुभयो । बैठकमा केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य नारायणी शर्माले लामो समयदेखि नेपाली महिलाहरु मुक्तिको बाटो खोजिरहेको अवस्थामा नेकपाले नै महिला मुक्तिको नेतृत्व गरेको बताउँदै आगामी निर्वाचनमा महिलाहरुलाई संविधानले व्यवस्था गरे अनुसारको अवसर दिनु पर्नेमा जोड दिनुभयो ।
बैठकमा नेकपा जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुबेदीले तिनाउ र बुटवलको सम्बन्ध प्राकृतिक साधन एवम् स्रोतले मात्र नभएर राजनीतिक रुपमा समेत रहेको बताउनुभयो । बुटवल मेगासीटीको अभियानमा रहेको र त्यसका लागि तिनाउ समेत जोडिन सक्ने बताउनुभयो ।
सुवेदीले तिनाउका कार्यकर्ताहरु पार्टीप्रति वफादार रहेको बताउँदै आगामी निर्वाचनमा नेकपा भारी मतका साथ विजयी हुन सक्ने बताउनुभयो । बैठकमा पार्टीका केन्द्रीय सदस्य झपेन्द्रबहादुर जीसीले पार्टीलाई चुस्तदुरुस्त राख्नका निम्ती विभिन्न जनवर्गीय संगठनहरुको गठन गर्दै वडा कमिटीहरुलाई गतिशील बनाउनु पर्ने बताउनुभयो ।