नेपाल सरकारका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको बताएका छन् । उनले सामाजिक सञ्जालले दिएको नियुक्ति दिएको सरकारलाई थाहा हुने कुरा नभएको पनि बताए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सरकारका प्रवक्ता खतिवडाले भने, ‘होइन उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला । सरकारले चै दिएको छैन ।’ उनले घिसिङको नियुक्ति बारे कुनै औपचारिक प्रस्ताव पनि नभएको बताए । उनले घिसिङ नियुक्ति बारेको लेखाइ, बोलाई र सूचनामा कुनै सत्यता नभएको बताए ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङको कार्यकाल यही भदौ मसान्तमा सकिँदैछ । उनी पदमुक्त भए पश्चात नेपालमा पुनः लोडसेडिङ हुने भन्दै उनलाई पुनर्नियुक्तिका लागि सरकारलाई दबाब छ । सामाजिक सञ्जाल, विभिन्न मिडिया र भ्रष्टाचार विरोधीहरु उनलाई पुनः नियुक्ति गर्नुपर्ने बताउँछन् । त्यसैगरी देशमा लोडसेडिङ गराएर अरबौं कुम्लाउने दाउमा रहेको भन्दै नागरिक तहबाट सरकारलाई खबरदारी गरिएको छ । सरकार भने पदावधि सकिएका उनको स्थानमा उनलाई नै दोहोर्याउने भन्दा आफू अनुकूल व्यक्ति ल्याउने प्रपञ्चमा रहेको स्वतन्त्र व्यक्तिहरुको तर्क छ ।