
कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि पाल्पामा जारी निषेधाज्ञाको पहिलो दिन मुख्य शहर तानसेन, रामपुर, हार्थोक, प्रभास लगायतका क्षेत्र सुनसान देखिएको छ ।
यस अघि सरकारले जारी गरेको लकडाउनको बेला जस्तै निषेधाज्ञाको समयमा पनि जिल्लामा सुनसान देखिएको हो ।
कोरोना संक्रमणको अवस्था भयावह हुन थालेपछि शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा लागु भएको छ । भदौ १२ गतेसम्म हुने निषेधाज्ञाको दोस्रो दिन जिल्लाका सडक प्राय ः सुनसान देखिएका छन । सडकमा अत्यावाश्यक सवारी साधन बाहेक अन्य सवारी साधन गुडेका छैनन् । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन ।
निषेधाज्ञा उल्लघङ्न गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि तैनाथ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर कारवाही गरेको देखिएको छ । जिल्ला प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर निस्किए कारबाही गर्ने जनाउँदै आएको छ ।
निषेधित क्षेत्र घोषणा गरेर मानिसलाई घरमै रोक्न सकेमा कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सकिने भन्दै यो कदम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । निषेधज्ञाको पहिलो दिन अनावश्यक रूपमा घरबाहिर निस्किनेलाई सुरक्षाकर्मीले फुटपाथमै सम्झाई बुझाई गरेका थिए ।
बिहीबार बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैंठकले संक्रमण रोक्न खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सेवा र सवारी सञ्चालन एक साता बन्द गर्ने निर्णय गरेको थियो ।