सभापतिमा विमलेन्द्र निधिको दाबीले काँग्रेसमा जन्माएको नयाँ बहस

काठमाडौँ । उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको दाबी प्रस्तुत गरेपछि नेपाली काँग्रेसमा नयाँ हलचल ल्याएको छ । पछिल्लो समय सर्वसम्मत नेतृत्व चयनको कसरतमा लागेका निधिले गत बिहीबार सभापति शेरबहादुर देउवासँग चौधौँ महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव राखेका थिए । तर देउवाले एक पटक आफै सभापतिमा उठ्ने जवाफ दिएपछि अब निधिले के गर्लान् भन्ने काँग्रेसजनमा आमचासो छ ।

नेतृत्व लिनका लागि संस्थापन इतरपक्षमा आधा दर्जन नेताहरूको संघर्ष चलिरहँदा संस्थापन पक्षमा देउवालाई एकल उम्मेदवार ठानिएको थियो । तर एकाएक निधिले आफू उम्मेदवारका रूपमा अघि बढेको जानकारी गराएपछि अब देउवाको पनि आगामी रणनीति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । तर निधि भने देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले अभिभावकको भूमिकामा राख्न आन्तरिक लविङ तीव्र बनाएका छन् ।

चैत यता पार्टीका नेता र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीसहित ८० जनासँगको छलफलपछि सहमतिबाट नेतृत्व चयन गर्नु अहिलेका आवश्यकता भएको निधिको निष्कर्ष छ । यस्तै व्यक्तिबाट एक हुनुभन्दा नीतिका आधारमा एक हुँदा सर्वसम्मत नेतृत्व चयन सम्भव रहेको निधिको तर्क छ । १४ औँ महाधिवेशनलाई आफ्ना लागि सबैभन्दा अनुकूल परिस्थिति ठानेका निधिले त्यही अनुसार गृहकार्य पनि गरिरहेको बुझिएको छ ।

अहिले ६५ वर्ष पुगेका निधिलाई १५ औँ महाधिवेशनमा युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्माको पुस्ताले समेत आफ्नो लागि स्पेस नछाड्ने उनको बुझाइ छ । १५ औँ महाधिवेशनमा आफू ७० वर्षका पुग्ने भएकाले त्यतिबेला उमेर र युवाको प्रभावले आफू अनुकूल वातावरण नहुनेमा उनी जानकार देखिएका छन् । त्यसैले पनि उनी १४ औँ महाधिवेशनमा नै देउवालाई रोक्न चाहन्छन् । साथै निधिले सर्वसम्मत नेतृत्व चयनको विषय उठाउनुले पनि काँग्रेसभित्र बहस जन्माएको छ ।

अहिलेसम्म करिब एक दर्जन नेताले भावी सभापतिमा दाबी प्रस्तुत गरिरहँदा निधिको उम्मेदवारी ‘लजिकल’ देखिएको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल बताउँछन् । उनले भने, ‘नेपाली काँग्रेसमा धेरै वटा गुट छन् । ती सिद्धान्तमा भन्दा महत्वकांक्षाले निर्माण भएका हुन् । तर अहिलेको अवस्थामा केही लोजिकल पनि छन् । के कारणले म सभापतिमा उठ्नुपर्छ वा अर्को नेतृत्व हुनुपर्छ भन्ने केही आधारसहित उम्मेदवारी देखिएका छन् । विमलजी (विमलेन्द्र निधि)को उम्मेदवारी प्रस्ताव मलाई स्वभाविक लागेको छ ।’

नयाँ पुस्ता भनेर उमेरलाई त्यति महत्व नदिएको भन्दै विचार र अन्दोलनका आधारमा निधिको उम्मेदवारी तार्किक लागेको उनले सुनाए । देउवासामू निधिले राखेको प्रस्तावबारे दाहालले भने, ‘विमलजीले हिजो अस्ती अब म लड्छ भनेर भन्नुभयो । उहाँले उठाउनु भएका दुई तीन वटा तर्क सही लाग्यो । पहिलो कुरा त नेपाली काँग्रेसमा धेरै गुटहरु भयो । यसलाई रोक्नका लागि सर्वसम्मत नेतृत्व हुनुपर्छ भन्नुभयो । दास्रो कुरा शेरबहादुरजी र रामचन्द्रजीहरुले अब अभिवाकत्व लिनुपर्छ भन्नुभयो । तेस्रो कुरा उहाँले आफ्नो अवस्थाका नेताहरु पाँच सालपछि नेतृत्व लिन सक्ने अवस्था नहुने भन्नुभयो ।

१५ औँ महाधिवेशनमा नयाँ पुस्ता आउने र १४ औँ मा ८० वर्ष पुग्न लागेका नेताहरुले नछोड्ने कुराले आफूहरुले अहिलेसम्म पार्टीमा काम गरेको के त भन्ने निधिले प्रश्न उठाएको देखिन्छ ।

‘१५ औँ महाधिवेशनमा गगन, विश्वप्रकाशको पुस्ता आउँछ । तपाईंहरु ८० वर्षमा पनि नछोड्ने र अर्कोतिर पछाडिबाट नयाँ पुस्ता आउँछ । त्यो बेलामा हामीले अहिलेसम्म पार्टीमा काम गरेको के त भन्ने उहाँहरुको कुरा छ । यो तार्किक कुरा पनि हो । ७० वर्ष पुगेपछि नयाँ पुस्तालाई छोडिदिनुपर्छ भन्ने कुरा काँग्रेसमा नौलो हो । काँग्रेसभित्र यस्तो कुरा बोलिँदै बोलिँदैन,’लामो समय काँग्रेस राजनीति नियालिरहेका दाहालले भने, ‘अरुलाई छोड्न पर्छ दिनुपर्छ भन्ने कुरा सोचिँदैन । पाँच वर्षपछि नयाँ पुस्ता आइसक्छ उनीहरुलाई हेर्नुपर्छ  भन्नु भनेको राम्रो सन्देश हो ।’

उमेर समूह र आन्दोलनका हिसाबले पनि बीचको पुस्ताको सेतुका रुपमा निधिले यो कुरा प्रस्तुत गरेको उनको बुझाइ छ । दाहालका अनुसार यसले काँग्रेसमा नयाँ दृष्टिकोण विकास हुन थालेको छ ।

नेपाली काँग्रेस माथिदेखि तलसम्म गुटमा गुटमुटिएका बेला यसले क्षति पुर्याउछ भनेर नेतृत्व तहबाट सुरु भएको बहसले केही न केही निष्कर्ष निकाल्ने उनको विश्लेषण छ ।

उनले भने, ‘यतिबेला नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्ने अवस्थामा सिर्जना भएको छ । अहिलेको बेलामा लोकतन्त्रलाई बलियो बनाउनका लागि काँग्रेसमा एकता अपरिहार्य छ । काँग्रेसको नेतृत्वपंक्ति छरिएको अवस्थामा सर्वसम्मत नेतृत्व हुनुपर्छ भनेर विमलजीले शुरु गर्नुभएको छलफलले एउटा दृष्टिकोण दिन्छ ।’

more on roto pati

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय