नेकपा सचिवालय बैठक भोलि, यी हुन् छलफलका विषय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ । भोलि बिहान ९:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल हुने एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।

भोलिको बैठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने ती सचिवालय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदललाई भोलिको सचिवालय बैठकले अनुमोदन गर्नेछ ।

वरिष्ठनेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सचिवालयले गठन प्रक्रियालाई अनुमोदन गरेपछिमात्रै त्यसको प्रतिवेदन बैठकमा छलफल हुनुपर्ने धारणा राखेपछि भोलिको बैठकमा कार्यदल गठनको निर्णय अनुमोदन हुनेछ ।

भोलिदेखि नै मन्त्रिपरिषदका सदस्य परिवर्तन गरेर सरकारलाई प्रभावकारी पार्ने विषयमा पनि छलफल गर्ने तयारी छ । विवाद बढेसँगै नेकपाको सचिवालय बैठक पनि लामो समयदेखि बस्न सकेको थिएन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद समाधानको सहमति भएसँगै तत्कालका लागि नेकपाको विवाद सकिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय