काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले साधारणसभा गर्न सक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएको बताए ।
यसले महासंघमा गलत प्रवृति विकास भएको र स्यालले कुखुरा लग्यो भन्ने भन्दापनि स्याल पल्कियो भन्ने कुराले पिरोलेको उनले बताए । साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिदा कानूनी मात्र नभई नैतिक र सामाजिक जग समेत कमजोर भएको ढकालले बताए । उनले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी समेत गरे ।
जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्व आवस्यकता रहेको भन्दै आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप आफुमाथि लागेको ढकालले बताए । उनले कोभिड १९ को महामारीको अवस्थामा महासंघका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर सरकारको जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद भएको बताए ।
कोभिडका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासंघले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो । महासंघको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको जोखिम अझैपनि रहेको भन्दै देशमा पूर्ण रुपमा सबै क्षेत्र खुलेपछि मात्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।