पोखरा । यस वर्षको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” बाट तनहुँका पत्रकार प्रताप रानामगर सम्मानित भएका छन् ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कार नेपाल मगर पत्रकार संघ, कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा पत्रकार रानामगरलाई प्रदान गरिएको हो ।
पुरस्कारको राशी १० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ । कान्तिपुर टेलिभिजनका तनहुँ सम्वाददाता रहेका रानामगर नेपाल मगर पत्रकार संघ, गण्डकी प्रदेशको संयोजक, नेपाल पत्रकार महासंघ, तनहुँ शाखाको कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तनहुँ शाखाको अध्यक्ष समेत हुन् ।
ुरस्कारबाट पत्रकार रानामगरलाई सम्मान गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकारले निष्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड दिए । सम्बन्धित निकायलाई खबरदारी गर्न पत्रकारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले तथ्यगत कुरामा ध्यान दिन पत्रकारलाई आग्रह गरे ।
मनोगत र मनगढन्ते कुराले भ्रम सिंर्जना गर्ने भन्दै उनले तथ्यमा आधारित रहेर कलम चलाउन सुझाव दिए । एक अर्को प्रसंगमा प्रदेश प्रमुख शेरचनले देशको सांस्कृतिक विविधतालाई सही मूल्यांकन गर्न नसक्दा मौलिक संस्कृति निरुत्साहित हुने भन्दै संस्कृति संरक्षण गर्ने कुरालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपालीले अहिलेको अवस्थामा कोरोना भाइरसको महामारीले जनजीवन त्रसित बनेको भन्दै सतर्क र सचेत भएर दैनिक जीवन यापन सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका इञ्चार्ज हुम गुरुङले आदिवासी जनजातिका संस्कृतिलाई राज्यले अझै सम्मान गर्न नसकेको भन्दै पत्रकार रानामगरको सम्मानले सम्पूर्ण पत्रकारिता जगत् सम्मानित भएको महसुस गरेको उल्लेख गरे ।
प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय कार्यवाहक अध्यक्ष एमबी आस्था मगरले आफूहरूले उपयुक्त पात्र छनौट गरेको भन्दै आगामी दिनमा समेत पत्रकार रानामगरबाट निरन्तर योगदानको अपेक्षा गरिएको बताए ।
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङले कौरा नाचको मौलिकतालाई बचाउनुपर्ने उल्लेख गर्दै मौलिक संस्कृति बिस्तारै आधुनिकतिर ढल्किँदै जान थालेको बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खेम पुनमगर, नेपाल मगर संघ, गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापामगर, नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, पुरस्कृत व्यक्तित्व रानामगरलगायतले मौलिक कौरा संस्कृति र पत्रकारिताका बारेमा बोलेका थिए ।
पुरस्कृत व्यक्तित्व रानामगरका बारेमा प्रतिभा छनौट समितिकी सदस्य मीना थापामगरले बोलेका थिए ।
नेपाल मगर पत्रकार संघ, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव सुरज थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष तारामाया थापामगरले स्वागत गरेका थिए ।