प्रज्ञा प्रतिष्ठानद्वारा थप तीन पुरस्कार स्थापना

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/७७ मा तीनवटा नयाँ पुरस्कार स्थापना गरेको छ ।

प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरु स्थापना गरेको हो ।

नेपालको गौरबलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पुर्याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ । सो पुरस्कारको राखी तीन हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद, पदक र प्रमाण पत्र रहेको छ ।

यस्तै, नेपालबाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरुलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना भएको छ । यस्तै, नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई प्रर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । दुवै पुरस्कारको राशी दुई लाख नेपाली रुपैयाँ नगद, पदक र प्रमाणपत्र रहेको छ ।

प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७७ कोभिडका कारण गर्न सकेको छै् । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार महोत्सवका लागि प्राप्त भएका ५०२ वटा कविताहरु सिलबन्दी र लाहाछाप गरी सुरक्षित रहेका छन् । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि समुचित मूल्याङ्कन गरी पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले नेपाल शब्दकोशको मोबाइल एप निर्माण गर्दै परिमार्जित संस्करण प्रकाशन गरेको छ । गत माघमा राष्ट्रिय गजल महोत्सव समेत सम्पन्न गरेको छ । यस्तै, कोरोना नियन्त्रणका लागि प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव लगायत सम्पूर्ण कर्मचारीको तर्फबाट ७ लाख २९ हजार ५७३ रुपैयाँ कोरोना नियन्त्रण कोषमा जम्मा गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय