मोरङ । साहित्यकार ईरान राईको व्यंग्य निबन्ध संग्रह ‘कट्टु’ सार्वजनिकीकरण गरिएको छ । २०७ औँ भानु जयन्तीको अवसरमा सोमबार बेलबारीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कट्टुमाथि साहित्यकार तथा पूर्वसांसद एचएम तामाङले टिप्पणी गरेका थिए । उनले यस व्यंग्य निबन्ध संग्रहमा निक्कै धेरै नयाँ शब्दहरूको प्रयोग भएको बताए। उनले भने, ‘नयाँ शब्दहरूको प्रयोग पनि लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल जस्ता मूर्धन्य साहित्यकारहरूले प्रयोग गर्नेखालका गहकिला शब्दहरूको प्रयोग भएको पाइन्छ ।’
कार्यक्रममा लेखक राईले व्यंग्य अरुप्रतिको आक्रामक वाण नभएर आफैँभित्रको विकारहरूविरुद्धको शुद्धीकरणको अविरल शाब्दिक अभियान भएको बताए । लेखकको अनुसार व्यंग्यलाई सकारात्मक रूपमा लिने हो भने आत्मआलोचना गर्ने बानीको विकास हुने र आत्मआलोचनाले विकार र बिकृतिहरूको निर्मुल गर्दै सुन्दर समाजको निर्माण गर्न सकिने तर्क राखेका थिए ।
सोहि अवसरमा बेलबारी क्षेत्रका कला, साहित्यको विकासका निम्ती बेलबारी नगरपालिकाले बेलबारी प्रज्ञाप्रतिष्ठान गठन गर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । शुभकामना मन्तव्य राख्ने क्रममा सहित्यकार तारा पराजुलीले लेखकलाई संग्रहका लागि बदाई तथा थप सफलताको शुभकामना राखेकी थिइन् ।
लेखकको हालसम्म नयाँ युगको खोजीमा (संयुक्त कविता संग्रह), सप्तकोशीको किनारबाट (संयुक्त गजल संग्रह), जिउँदो लास (हाइकु संग्रह), झन्डाकविता (कवितासंग्रह) लगायत गरी १० ओटा कृति प्रकाशित छन् । भने उनको रगत, हत्या, षडयन्त्रको हुरी, नाता, नाटक, गरिबको आँसु, गरिबको पनि पालो आउँछ जस्ता नाटकहरू मञ्चमा मञ्चित भइसकेका छन् ।