म्यानचेष्टर । टेष्ट च्याम्पियनसीप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको अन्तिम तथा निर्णायक टेष्टमा घरेलु टोली इंग्ल्याण्डले मध्यम प्रदर्शन गरेको छ । म्यान्चेष्टरस्थित ओल्ड ट्राफोर्ड स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्याण्डले पहिलो पारीमा ३ सय ६९ रन बनाएको थियो । दोस्रो दिनको लञ्च अघि अलआउट हुँदै सय ६९ रन बनाएको हो ।
पहिलो ओभरमा ओपनर डोमिनिक सिब्लीलाई शून्य रनमा गुमाएको इंग्ल्याण्डले दोस्रो विकेटका लागि ४७ रनको साझेदारी गरेका कप्तान जोय रुट व्यक्तिगत १७ रनमा रन आउट भए । यसैगरी रोरी ब्रुन्ससँग ४५ रनको पार्टनरसीप गरेका बेन स्ट्रोक्स केमार रोचको बलमा बोल्ड आउट भए । यस्तै अर्का ओपनर रोरी ब्रुन्स ५७ रनमा रोस्टन चेसको बलमा स्लिपमा क्याच आउट भए ।
तल्लोक्रमका ब्याट्सम्यानहरु सस्तैमा आउट भएपनि स्टुवार्ड ब्रोडले ४५ बलमा ९ चौका र एक छक्काको मद्धतमा ६२ रनको महत्वपूर्ण पारी खेले । पाँचौं विटका लागि जोस बट्लर र ओली पोपले १ सय ४० रनको शतकीय साझेदारी गर्दै इंग्ल्याण्डको पारीलाई अघि बढाए ।
आउट हुनअघि पोपले ९१ रन बनाए । उनी दोस्रो शतक प्रहार गर्नबाट ९ रनले बञ्चित भए । यस्तै, विकेटकिपर ब्याट्सम्यान बट्लर ६७ रनमा क्याच आउट भए । यस्तै, डोमिनिक बेसले १८ तथा जेम्स एन्डरसनले ११ रन बनाए ।
वेष्ट इन्डिजका केमार रोचले ४, स्यानोन गाब्रिएल र रोस्टन चेसले समान २-२ तथा ज्यासन होल्डरले १ विकेट लिए ।
यसअघि सम्पन्न भएको पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले विजयी तथा दोस्रो खेलमा इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।