कम्प्युटर इन्जिनियर गाई फार्म रमाउँदै

वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिका १ धोरेका श्यामवदन यादव (४०) ले बुवा आमाको सपना पूरा गर्न भारतको बैंग्लोरमा कम्प्युटर इन्जिनियर पढे । डिग्री पनि हात पूरा भयो ।

कम्प्युटर इन्जिनियरपछि बैंग्लोरमै उनले एमबीए पनि गरे । तर कम्प्युटर इन्जिनियर र एमबीए दुवै डिग्रीका कागज घरमै थन्क्याएर श्यामवदन भने १२ वर्षदेखि गाईभैँसी पालनमा रमाइरहेका छन्।

बैंग्लोरबाट फर्किएका श्यामवदनले वीरगन्जको प्रतिष्ठित घरानाको उद्योगमा आकर्षक तलब सुविधासहितको जागिर पनि पाइसकेका थिए । तलब सुविधा पनि राम्रै थियो । तर किसानका छोरा श्यामवदन जागिरमा धेरै दिन रमाउन सकेनन् र ६ महिनामै छाडे ।

सुरुमा उनले १० वटा उन्न्त जातका गाई किनेर व्यवसाय थाले । पुख्र्यौली जग्गा बैंकमा धितो राखेर उनले कलश मिल्क इन्डस्ट्रिज पनि खोले । उद्योगमा चाहिने दूधका लागि श्यामवदनले गाई र भैंसी किनेर गाउँका किसानलाई बाँडे । कम्प्युटर इन्जिनियर पढेर पशुपालन थालेपछि उनको कुरा काट्नेको पनि गाउँमा कमी थिएन । तर उनले त्यसको प्रवाह गरेनन् । पशुपालनमा दत्तचित्त भएर लागीरहे । उनको लगनशीलताले १२ वर्षमा एकपछि अर्को सफलता पाउँदै गएको छ । १२ वर्ष अघि ७ लाख पुँजीबाट सुरु गरिएको श्यामवदनको पशुपालनमा अहिलेसम्म २० करोड लगानी भइसकेको छ । त्यसमा ७५ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् ।

वीरगन्जसहित ९ सहरमा कलश मिल्क इन्डिस्ट्रिजका डेरी हब सञ्चालनमा छन् । पशुपालनमा पाएको सफलताले हौसिएका श्याम वदनले अब भने झण्डै डेढ अर्ब लगानीमा पूर्णस्वचालित अत्याधुनिक गाईपालन फार्म खोल्दै छन् । गृह जिल्ला पर्साको ठोरी गाउँपालिका ५ सुर्वणपुरमा श्यामवदनले २ हजार गाईपाल्ने गरी कलश क्याटल फार्मिङ प्रालि नामक फार्म सञ्चालनमा ल्याउन लागेका हुन् ।

नेपाल बंगलादेश बैंकको ऋण लगानीमा १३ बिघा जग्गामा निर्माण भइरहेको गाइ फार्म एसियाकै नमुना रहेको श्यामवदन बताउँछन् । उनका अनुसार गाई फार्ममा राखिने गाइको सम्पूर्ण काम मेसिनले नै गर्नेछ । जर्मनीबाट आयात गरिने मेसिनले दूध दुहूने, गोबर फाल्ने, दानापानी दिने र हेरचाहका कामसमेत गर्नेछ । उनका अनुसार गाई बिरामी भएको, मिल्क फिभर आएको पनि गाईको घाँटीमा बाँधिएको विशेष प्रकारको सफ्टवेयर जडित उपकरणले पत्ता लगाउनेछ ।

फार्म सञ्चालनमा आएपछि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरिने श्यामवदन बताउँछन् । दूध वीरगन्जका साथै काठमाडौं र पोखराको बजारमा खपत हुने उनी बताउँछन् । अबको ४ महिनामै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा फार्म निर्माणको काम भइरहेको श्यामवदन बताउँछन् । काम सुरु भएको १ वर्ष भएको छ । पुसदेखि फार्म सञ्चालनमा ल्याउने लक्ष्य छ । उक्त समाचार र फाेटाे आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय