लामो दूरीका यातायात छिटो सुचारु गर्न माग

काठमाडौं । छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ । छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको दाबी छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन, ‘जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु अवैज्ञानिक भयो, जनतालाई दुःख भयो, काठमाडौं आउनैपर्ने मान्छे जिल्ला जिल्लामा गाडी चेन्ज गरेर आएका छन् । त्यसो गर्दा कोरोना सङ्क्रमण सर्ने सम्भावना झन् बढ्छ ।’

बरु लामो दूरीका पनि खुला गरिदिए एउटै गाडीमा गन्तव्यमा पुग्दा कोरोना फैलने सम्भावना कम हुने उपाध्यक्ष स्वाँरको भनाइ छ । सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर गाडी चलाउँछौँ भन्दा पनि सरकारले रोकिरहेको महासङ्घको गुनासो छ ।

स्वाँर भन्नुहुन्छ, ‘प्राइभेट गाडीले दोब्बर भाडा उठाएर यात्रु बोकिरहेका छन्, यात्रु ठगिएका मात्र छैनन् कोरोनाको उच्च जोखिम मोलिरहेका छन् । निजी गाडीले कोरोना नसार्ने सार्वजनिकले मात्र सार्ने जस्तो सरकारको व्यवहार भयो ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय